विहिबार दरवारमार्ग स्थित लुक्स युनिसेक्स सलुनको उद्घाटनमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, वर्षा राउत, पूजा शर्मा र आकाश श्रेष्ठ पुगेका थिए। हलसञ्चालक एवम् व्यवसायी सुमित मैनालीले सञ्चालन गरेको सलुन उद्घाटनमा जोडि बाधेर पुगेका पूजा र आकाशलाई अभिनेत्री तथा निर्देशक दीपाश्रीले सञ्चारकर्मीहरुको अगाडि जिस्काउन भ्याइन्।

दीपाले भनिन्, ‘प्रायः व्युटिपार्लरमा वा सलुनमा पस्दा केटा वा केटीलाई मात्रै लक्षित गरिएको हुन्छ। त्यसो हुँदा पूजा श्रृङ्गारिदाँ आकाश के गर्ने बस्ने भन्ने हुन्छ। पूजा एक्लै आउदाँ गाह्रो हुन्छ। आकाशलाई ल्याउनु परो।’


उनले यसो भनिरहदाँ पूजाले केही मुख विगार्दै आँखा तरेकी थिइन् भने आकाश भने मुसुक्क मुस्कुराई रहे। पूजाको अनुहार खुम्चिएपछि दीपाश्रीले नजिकै उभिएकी अभिनेत्री वर्षा राउतलाई संजोग र आफूलाई दीपकराज गिरीसंग नाम जोडेर मजाक गर्न भ्याइन्। यती भनेपछि माहोल भने रमाइलो भएको थियो।

पछिल्लो समय आकाश र पूजाको जोडिलाई दर्शकले निकै रुचाएका छन् भने उनीहरु वास्तविक जोडि बन्नु पर्ने शुभचिन्तकहरुको शुभेच्छा छ। यद्यपी उनीहरुले आफूहरु राम्रो साथी मात्रै भएको दावी गर्दै आएका छन्।