गायिका आस्था राउतको भिडिओ प्रकरणमा लोकप्रियगायक राजेशपायल राईले पनि टिप्पणी गरेका छन्।

उनले आस्थालाई ‘धेरै रुन्ची’ नबन्न सुझाव दिएका छन्। गायक राईले आफ्नो औपचारिक फेसबुक मार्फत् यस्तो सुझाव दिएका हुन्। झापा जाने क्रममा त्रिभुवन विमानस्थलमा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै राउतले फेसबुक लाइभ गरेकी थिइन्।

यसै क्रममा गायक राईले आस्थालाई बहिनीको रुपमा सुझाव दिएको उल्लेख गरेका हुन्। राईले लेखेका छन्, ‘उनी राम्री गायिका हुन्। माया लिनेले घृणा पनि सहन सक्नुपर्छ, तब न हामी कलाकार ! धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौ।’

राईले अगाडि लेखेका छन्, ‘एयरपोर्टमा शाहरुख खानलाई त झन् कट्टुमै चेक गरेको थियो। त्यो उसको अधिकार हो, अब रह्यो पुलिसले कस्तो व्यवहार गर्‍यो? चेकिङमा कफी, पानी लान पाइँदैन इभन वालेट।’ गायक राईले आस्था र प्रहरी दुबैलाई सुध्रिन पनि सुझाव दिएका छन्।

राउतले प्रहरीमाथि पोखेको असन्तुष्टिलाई लिएर उनको व्यापक टिप्पणी पनि भयो। उनले स्पष्टिकरण दिँदै फेरि अर्को भिडियो सार्वजनिक गरिन्। तर उनले त्यहाँ पनि आफूमाथि उठेका प्रश्नको जवाफ नदिएर आफू गलत नभएको जिकिर गरिन्।