केही वर्ष अघिसम्म नेपाली सिनेमाको पाश्र्व गायनमा निकै व्यस्त दीपक लिम्बुको व्यस्तता अचेल स्टुडियो भन्दा ज्यादा देश विदेशको सांगीतिक कार्यक्रममा हुने गरेको छ। दीपकको पाश्र्व गायन र अन्य हिट गीत बजारमा नभएपछि अचेल दीपकलाई धेरै दर्शकले विर्सिन थालेका छन्।

१५ सय भन्दा बढी गीत गरेका दीपकका ‘यहा देशको छ चिन्ता’, ‘मेरो कल्पनामा आज एउटा परी’, ‘मैले माया गर्न जानीन होला’, ‘मुटु माग्यौ तिमीले’, ‘नाइ नभन्नु ल’ जस्ता थुप्रै हिट गीत र लोकप्रिय गीत रहेका छन्।

यद्यपी उनी वर्तमान समयमा त्यती सक्रिय छैनन्। यसबारे दीपक स्वयम् भने सक्रियता जारी राखेका बताउछन्। बरु पहिलेको तुलनामा सिर्जनाहरु कम आएको स्विकार गर्छन्। उनी भन्छन्, ‘जीवनमा सबै कुरा सधै एकै नास रहदैन। उकाली ओराली हुन्छ नै। मेरो जीवनमा पनि सायद यही भएको हुनुपर्छ। यसैमा त छ मज्जा।’ (हाँसो)

‘दर्शक श्रोताहरुको लागि मैले धेरै गीतहरु एक समयमा दिने प्रयास गरेँ। समयको माग र चहाना अनुसार कहिले काही नयाँ आवाज पनि सुन्न खोज्नु भएको हामीले मान्नु पर्छ। अन्य प्रतिभा र आवाजले स्थान पाउनु पर्छ। सायद यति बेला उहाँहरुको समय होला। केही छैन म दर्शक श्रोतालाई मन पर्ने गीत संगीत लिएर फेरि आउने छु। त्यसको तयारी गर्दैछु।’ दीपकले भने।

म मर्दा बज्ने गीत गाइसकेँ

गायक दीपक लिम्बले धेरै हिट गीत दिईसके। नेपाली तारा सिजन १ का विजेता समेत रहेका दीपक सम्भवत नेपाली रियालिटी शो बाट सबै भन्दा धेरै र लामो समय सम्म टिक्न र बिक्न सफल भएको प्रतिभा हुन्। उनका दाँजोमा अहिले सम्मका कुनै पनि विजेताहरु लामो समय सम्म टिक्न सकेका छैनन्। हिट र लोकप्रियको हिसाबले दिएका सिर्जनाहरु पनि पर्याप्त मात्रामा रहेका छन्।

हरेक प्रकारका गीतमा पोख्त दीपक आफैलाई भने ‘यहाँ देशको छ चिन्ता’ बोलको गीत विशेष मन पर्छ। उनी भन्छन्, ‘नेपाली गीत संगीतमा अरु केही गरियो की गरिएन। तर मैले मेरो जीवनको अन्तिम विदाईमा बज्ने गीत भने गाएँ। सायद त्यो बेला ‘यहाँ देशको छ चिन्ता’ भन्ने गीत नै बज्छ होला। यसको लागि म गीतकार डा. कृष्णहरि बराल र संगितकार सुरेश गैरे सर प्रति आभार प्रकट गर्न चहान्छु कि यती मीठो सिर्जना मलाई दिनुभो।’