prashant tamang

प्रशान्त तामाङ नेपाली गीतसंगित र सिनेमा अनुरागीहरुको लागि नौलो नाम होइन। इण्डियन आइडल सिजन ३ को विजेता भएसंगै उनी नेपाली गीतसंगित र सिनेमा मार्फत नेपाली दर्शक श्रोतामाझ लोकप्रिय भएको अनुहार हो। ‘गोर्खापल्टन’, ‘निशानी’, ‘धड्कन भित्र’, ‘किन मायामा’, ‘अंगालो यो मायाको’, ‘परदेशी’ लगायतका सिनेमामा अभिनय गरिसकेका छन्। ४ वर्ष अघि प्रशान्तले ‘परदेशी’ नामक सिनेमा गरेपछि भारत तर्फ नै लागे। त्यस यता उनले न त नेपाली सिनेमामा काम गरे न त नेपाली गीतसंगित नै।


यति बेला मिलन चाम्सको ड्रिम प्रोजेक्ट भनिएको सिनेमा ‘गोर्खा वारियर’मा प्रशान्त अनुबन्धित भएका छन्। उनको जोडिको रुपमा वर्षा सिवोकोटी देखिदैछन्। यस सिनेमाकै लागि प्रशान्तले पछिल्लो १ वर्ष देखि कुनै सिनेमाको अफर स्विकार नगरेको बताए। सोमबार बालुवाटारमा भेटिएका प्रशान्त तामाङसंग हामीले केही कुराकानी गरेका छौँ। हामीसंग गरिएको अन्तवार्ताको संक्षिप्त रुप यस्तो छ।

नेपाल कती समय पछि आउनु भएको हो?


हुन त म नेपाल बेला बेलामा आइरहेको हुन्छु। ३ महिना अगाडि पनि कामले आएको थिएँ। यो पटक चाँही आइतबार बेलुका आइपुगेको हो। सिनेमाको बारेमा कुरा गर्न र भेटघाट गर्न। आइतबार नै मैले गीत पनि रेकर्ड गराएको छु। यसरी मिडियामा भने लामै समय पछि हुनुपर्छ।

भर्खरै तपाईँ मिलन चाम्सको निर्देशनमा बन्न लागेको गोर्खा वारियरमा अनुबन्धित हुनु भएको छ। विशेष गरी गोर्खा भन्ने शब्दसंग तपाईँको भावनात्मक सम्बन्ध होला। करिअरको पहिलो सिनेमा पनि गोर्खा पल्टन। यस हिसाबले कस्तो लागि रहेको छ?


मलाई खुशी लागेको छ। किनकी म आफै पनि प्रहरीमा थिएँ। मेरो भिनाजु आर्मी हुनुहुन्छ। यस हिसावले गोर्खा वारियर भन्ने वित्तिकै योद्धाको कथा भएर होला म अलि बढी उत्साहित छु सिनेमालाई लिएर। यस सिनेमालाई लिएर मिलन चाम्स दाईसंग १ वर्ष अगाडि देखि नै कुरा भइरहेको थियो। दाईको यो प्रोजेक्ट ड्रिम प्रोजेक्ट भएको कारण मेरो लागि पनि विशेष नै छ।


तपाईँले अभिनय गर्नु भएको पछिल्लो सिनेमा परदेशी थियो। ४ वर्ष अघि गरेको सिनेमा परदेशी सफल पनि रह्यो। त्यस पछि नेपाली सिनेमा खेल्न किन छोड्नु भयो?


हुन मेरो सबै कामहरुलाई सम्पर्ण नेपाली दर्शकले मन पराउनु भएको छ। मया गर्नु भएको छ। यसको लागि म निकै नै खुशी छु। उहाँहरुको विश्वासलाई कायम राख्नका लागि अलि गज्जबको काम गर्ने सोच गरिरहेको थिएँ। सायद त्यही भएर पनि ४ वर्ष अलि ग्याप भयो होला।

त्यसो भए मिलन चाम्सको सिनेमा गोर्खा वारियरले के जादू गर्यो ?


मैले भनेनी मलाई आर्मी,पुलिसको भूमिका गर्न मन पर्छ। किनकी म यससंग अलि ज्यादा सम्बन्धित छु। यसकारण पनि यो सिनेमाका लागि म तयार भएँ।

परदेशी’ को सफलता पछि ‘परदेशी २’ बन्ने तयारी पनि भइसकेको छ। यसमा चाही तपाईँ हुनुहुन्छ की हुनुहुन्न ?


होइन यस बारेमा चाही निर्माण टिमसंग मेरो कुरा पनि भइरहेको छ। अब हेरौँ के हुन्छ।

परदेशी २’ मा प्रकाश सपुत अनुबन्धित हुनुभएको छ। यसबारेमा र उहाँको बारेमा चाही कतीको अपडेट हुनुहुन्छ?
अँ हेरेको छु। उहाँको ‘गलबन्दी’ भन्ने गीत मलाई पनि मन पर्छ। उहाँको बारेमा पनि थोरबहुत जानकारी राखेको छु। अहिले त युट्युव, समाजिक सञ्जालबाट सबै खालका अपडेट लिनका लागि सजिलो छ। यसकारण पनि नेपाली सिनेमा, कला, साहित्यको अपडेट लिन मलाई सजिलो छ।

त्यसो भए तपाईँलाई पछिल्लो समयमा मन पर्ने कलाकारहरु को को हुनुहुन्छ? कस्को सिनेमा हेर्नु भएको छ?


हुन त मलाई सबै कलाकारहरु मन पर्छ। उहाँहरुको कामहरु हेरिरहेको हुन्छु। विशेष गरी दयाह्याङ राई, सौगात मल्ल उहाँहरु एकदमै मन पर्छ। दया दाईको अभिनय कलाबाट म निकै प्रभावित। उहाँहरुबाट त धेरै सिक्न पाउँछु।


तपाईँको जोडिको रुपमा गोर्खा वारियरमा वर्षा सिवाकोटी पनि हुनुहुन्छ। उहाँको सिनेमा हेर्नु भएको छ?


हेरेको छु। उहाँको ‘पशुपतिप्रसाद’ सिनेमा हेरेको छु। उहाँ बोल्न नसक्ने युवतीको भूमिकामा हुनुहुन्छ। त्यो अभिनयबाट म निकै प्रभावित भएको थिएँ।

पछिल्लो पुस्तामा निकै चर्चामा रहेका अनमोल केसी, प्रदीप खड्का, पल शाहहरुको सिनेमा चाही कतिको हेर्नु भएको छ?


मैले अनमोल केसी, प्रदीप खड्का उहाँहरुको सिनेमा हेर्न चाही मौका जुरेको छैन। मैले पल शाहको चाही एउटा सिनेमा हेरेको छु।

तपाईँको सिनेमा नआए पनि सांगितिक कोशेली आउँछ कि भनेर बस्ने नेपाली श्रोता दर्शकहरुको ब्यग्र प्रतिक्षा निकै लामो भयो। किन यसो गर्नु भयो?

सबैको माया प्रति म कृतज्ञ छु। हुन त म नेपालमा आइरहेको हुन्छु। सांगितिक कोशेली भने ल्याउन सकिएन। तर पनि प्रशान्त तामाङ आइरहनु भन्दा बिचमा ब्रेक गरेर आउनुको मज्जा पनि बेग्लै होला नी होइन? (हाँसो)


तपाईँ हाल चाही भारतमा कहाँ, के गर्दै हुनुहुन्छ?


म चाहीँ इण्डियाको दिल्लीमा बस्दैछु। मेरो पुलिसको जागिर मैले पहिले नै राजिनामा दिईसकेको छु। दिल्लीमा हाम्रो आफ्नो व्यवसाय गरिरहेको छौँ।