बलिउडका कलाकार ऋषि कपुरको निधन भएको छ। कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको जनाइएको छ। अभिनेता अमिताभ बच्चनले ट्विट गर्दै खबरलाई पुष्टि गरेका छन्। इरफान खान जस्ता कलाकारको निधनको भोलि पल्ट कपुरको निधनले बलिउड यतीबेला शोकमा डुबेको छ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका थिए। कपूरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कपुरको निधन पश्चात जुही चावला, अक्षय कुमार लगायतका बलिउड कलाकारहरुले ट्विट गर्दै समवेदना प्रकट गरेका छन्।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए। गत फेब्रअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो। कपुर पछिल्ला पुस्तामा चर्चित अभिनेता रणवीर कपुरका पिता पनि हुन्।

सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका छैनन्। त्यसअगाडि उनले दीपिका पादुकोणसँग सिनेमा खेल्न लागेको घोषणा गरेका थिए। यो सिनेमा हलिउड सिनेमा ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ।

अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ।