बालगायक अशोक दर्जीको नयाँ गीत लकडाउनमै तयार भएको छ। लकडाउनमै छायांकन गरेर तयार पारिएको गीत शुक्रबार सार्वजनिक गर्ने तयारी भएको छ।

टंक बुढाथोकीको शब्द तथा संगीतमा रहेको गीतमा अशोक दर्जीको स्वर रहेको छ। सडकमा गीत गाएर चर्चामा आएका बालगायक अशोकका ‘मन बिनाको धन ठूलोकी’, ‘चौरीको चाम्रो छुर्पी’, ‘बाआमा’ जस्ता गीत सार्वजनिक भएका छन्।

सडकबाट आफूलाई यो स्थानसम्म ल्याउनका लागि साथ दिने सबैलाई कृतज्ञता प्रकट गर्नका निम्ती नयाँ गीत तयार पारिएको संगीतकार टंकले बताए।

लकडाउन खुकुलो भएपछि सानो टिम बनाएर गीतको भिडियो छायांकन गरिएको थियो। नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोमा टंक बुढाथोकीकै निर्देशन रहेको छ। गीतमा अशोक, टंक संगै एआर बुढाथोकीको अभिनय रहेको छ।