बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन पश्चात सुरु भएको नेपोटिज्म, ग्रुपिज्मको बहस नेपाली सिनेमा क्षेत्रमा पनि देख्न थालिएको छ। यस सन्दर्भमामा विभिन्न अभिनेत्री, निर्माता, कालकारहरुले आआफ्नै हिसाबले पक्षविपक्षमा भनाईहरु सामाजिक सञ्जालमा राखिरहेका छन्। केही कलाकारहरुले नेपाली सिनेमा क्षेत्रमा पनि नेपोटिज्म, ग्रुपिज्म रहेको धारणा राख्छन् भने कोही यसकुरालाई मान्न तयार छैनन्।


यसबारे सामाजिक सञ्जालमा तर्क वितर्क चलिरहदाँ ‘प्रेमगीत २’ की नायिका अश्लेशा ठकुरीले भने आफूलाई सिनेमा क्षेत्रमा रहेको ग्रुपिज्म, नेपोटिज्म जस्ता वादहरुले गर्दा सिनेमा क्षेत्रबाट टाढा बनाएको जिकिर गरेकी छन्। सेक्सिज्म, फेवरिज्म जस्ता वादहरुले गर्दा पनि आफूलाई एक्लो बनाएको भन्दै सिनेमा क्षेत्रबाट टाढीन बाध्य बनाएको उनको भनाई रहेको छ।


हामीसंग कुरा गर्दै अभिनेत्री ठकुरीले आफूले डेब्यु गरेको सिनेमा सिक्वेल भएकोले त्यसमा अस्वस्थ प्रतिस्पर्धा, घृणा फैलाउने काम नियोजित ढंगले नै गरेको जिकिर गरिन्। ‘प्रेमगीत २’ रिलिज हुने समयमा नियोजित ढंगले नै युट्युवमा डिसलाईक र नकारात्मक कमेन्टले गर्दा आफूलाई मानसिक तनाव भएको उनले बताईन्।

‘प्रेमगीत जस्तो सिनेमाको सिक्वेलमा काम गर्नु मेरो लागि आफैमा चुनौतीपुर्ण थियो।’ अश्लेशा भन्छिन्, ‘चुनौतीसंग सामना गर्न मलाई नी मन पर्छ। तर अस्वस्थ प्रतिस्पर्धा र नियोजित आक्रमणले मलाई गलायो। ग्रुपिज्म, सेक्सिज्म, फेवरिटिज्म, फेवरिज्म जस्ता कुराहरुले मलाई एक्लो बनाई दियो।’


उनी भन्छिन्, ‘कुनै नयाँ कलाकार आउँदैछन् भने उनीहरुको स्वागत र साथ दिनु पर्ने हो। तर यहाँ त कलाकारहरुको झुण्ड झुण्ड नै बनाएर एकले अर्को माथि प्रहार गर्न तयार भएको देखेँ। म माथि जेजस्ता घट्नाहरु घटे। सायद यस्तो घट्ना अन्य कुनै नयाँ नायिका माथि भएको भए उसले आत्महत्या समेत गर्न सक्थे।’


नायिका ठकुरी अगाडि थप्छन्, ‘यस्तै दिक्क लाग्दो र घिन लाग्दो हर्कतहरुले गर्दा मैले ‘मेरी मामु’ पछि सिनेमाहरु गर्ने आँट गरिनँ। मसंग भएको आत्मविश्वासलाई पनि कमजोर बनाईदियो। ‘मेरी मामु’ सिनेमा आउँदा सम्म मलाई छ वटा सिनेमाको अफरहरु आएका हुन् तर मलाई नेपाली सिनेमा क्षेत्र प्रति यती धेरै वितृष्णा जगाई दियो कि थप सिनेमा खेल्नै आँट आएन। बरु मलाई डिप्रेशन सुरु हुन थाल्यो।

नायिका ठकुरी भन्छिन्, ‘सिनेमा क्षेत्र त परिवार हो। जब परिवारबाटै साथ र सहयोग हुदैन भने एउटा नयाँ कलाकारले अगाडि बढ्ने हिम्मत कसरी राख्छ? पछिल्लो समयमा म डिप्रेशनबाट गुज्रिएर यती बेला म योगा प्रशिक्षकको रुपमा काम गर्दैछु। म योग ध्यानमा लाग्नुको कारण पनि आफूमा भएको डिप्रेशनलाई जित्नु हो। मैले कयौँपटक आत्महत्या गर्ने सोँचेकी थिएँ। अहिले म ठीक छु।
अन्त्यमा खबरदार मलाई जस्तो अरु कुनै कलाकारलाई नगर्नुस्। उसको जीन्दगी माथि गहिरो असर पुग्ने गरी राजनीति नगरिदिनुहोला। कुनै पनि बाद नेपाली सिनेमा क्षेत्रको लागि घातक हो।’