कोरोनाको त्रासका कारण भएको लामो समयको लकडाउनको उकुसमुकुस पछि पल शाह, सागर लम्साल बले र रियाशा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ। भौतिक दुरी कायम गरी निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ। गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने दीपक शर्माको सङ्गीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ। गीतको भिडियो निर्देशन पनि गायक ओली आफैँले गरेका छन्। भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधीर श्रेष्ठले पनि अभिनय गरेका छन्।गीत सार्वजनिक भएसंगै दर्शकले भिडियो र गीतको प्रशंसा गरेका छन्।

भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतीप्रतिको माया प्रेमलाई देखाइएको छ। लकडाउनले निम्त्याएको एक्लोपन हटाउन र माया प्रेमको आवश्यकता पर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ। विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन्। गीत गज्जब टिभीको युट्युब च्यानलमा हेर्न सकिन्छ।