नेपाली सिनेमा क्षेत्रमा परिवारवाद र समूहवादको विषयमा बहस भइरहँदा अभिनेत्री साम्राज्ञी आरएल शाहले भने आफूले सिनेमामा काम गर्दा भोगेका विभेदलाई सार्वजनिक गरेकी छन्। शुक्रवार आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै उनले ५ वर्षको अवधिमा ८ वटा सिनेमामा काम गर्दा आफूले धेरै नराम्रो अनुभव भोगेको बताएकी हुन्। काम गरेका मध्ये तीनवटा ब्यानरले आफूलाई गरेको ब्यवहार शब्दमा व्यक्त गर्न नसक्ने उनी बताउँछिन्।

उनले भनेकी छन्, ‘१७ वर्षको उमेरमा मैले चलचित्रमा डेब्यू गरेको थिएँ। त्यसबेला धेरैले मलाई सिनेमा क्षेत्र सानो छ, कति कुराहरु बाहिर ल्याउनुहुन्न भन्नुहुन्थ्यो। यसो गर्दा काम नपाउने भन्ने कुरा हुने गथ्र्यो। मैले जति पनि ब्यानरसँग काम गरेँ, तीमध्ये धेरैसँग दोहोर्‍याएर काम नगर्नुको कारण उहाँहरुले गर्ने ब्यवहार नै हो। एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन ।’

साम्राज्ञीले आफूमाथि कयौँ पटक शोषण भएको पनि बताएकी छन। तर, आफूले ती सबै कुरा भुलेर मुहारमा हाँसो ल्याएर काम गर्ने गरेको उनी बताउँछिन्। उनी सिनेमाको प्रचारमा पत्रकारहरुले सोधिने ‘किन घमण्डी भएको ?’ भन्नेखालको प्रश्नबाट पनि आजित हुने गरेको उल्लेख गरेकी छन्। उनले छायांकन स्थलमा खानका लागि पानी माग्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको तीतो अनुभव पनि सुनाइन्।

उनले अगाडि थप्दै भनेकी छन्, ‘सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता र निर्देशकहरु आक्रमण शैलीमा आउने गरेको उल्लेख गरेकी छन्। उनी भन्छिन्, उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ। किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु। म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु।’