बलिउडबाट सुरु भएको नेपोटिज्म, ग्रुपिज्मको लहरले पछिल्लो समयमा नेपालमा सिनेमा क्षेत्रलाई पनि छोएको छ। यसबारेमा विभिन्न कलाकारले बोलि रहेको बेला अभिनेता भुवन केसीले पनि सामाजिक सञ्जाल मार्फत् आक्रोशपुर्ण स्टाटस पोस्ट गरेका छन्। अभिनेत्रीहरु नम्रता सापकोटा, अश्लेशा ठकुरी, वर्षा सिवाकोटी लगायतले यसबारेमा बोले पछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि आफ्नो इन्ष्टा मार्फत सिनेमा क्षेत्रमा शोषणमा परेको कुरा खोलेका थिए।

अभिनेत्री साम्राज्ञीले बोलेको भोलि पल्ट अभिनेता तथा निर्माता भुवन केसीले आक्रोशपुर्णढंगले स्टाटस पोष्ट गरेका हुन्। उनले सामाजिक सञ्जालमा ‘खान पाइएन भनेर रोइकराई गर्ने हिरोइनले अहिले सम्म कुन सिनेमाको नाम बेचेर खाइरहेकी छिन्?’ भनेर प्रश्न सोझ्याएका छन्।

उनको यो स्टाटस को प्रती लक्षित भनेर स्पष्ट नभएता पनि साम्राज्ञी राज्यलक्ष्मी प्रती हो भनेर धेरैले आंकलन गरेका छन्। किनकी भुवन केसीकै निर्माणमा बनेको ड्रिम्स सिनेमाबाट नायिका शाहले नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी हुन्। साम्राज्ञीले केही समय अघि दिएको अन्तर्वातामा पनि ड्रिम्सको समयमा अनमोललाई छाता ओडाउने तर आफू भने घाम डढ्ने गरी उभिएको भन्ने खालको भनाई राखेका थिए।

भुवन केसीको यो किसिमको कडा स्टाटस आएपछि धेरै अचम्ममा परेका छन्। उनको स्टाटसलाई धेरैले साथ पनि दिएका छन्। भुवन केसीका छोरा अनमोल केसी बुवाको कारण नेपाली सिनेमामा आएको भन्दै बेलाबखतमा टिप्पणी हुने गर्छ। पछिल्लो समयमा नेपोटिज्मको कुरा गर्दा विशेष केन्द्रमा अनमोलका नाममा आउने गर्दछ।

भुवन केसीको यस्तो खालको अभिव्यक्ति आएपछि ‘थालमा दुलो पार्ने’ कलाकारले कस्तो जवाफ दिने हो त्यो भने केही दिन कुर्नु पर्ने भएको छ।