त्यो बेला मोबाइल हुदैनथ्यो। घरको टेलिफोनमा मार्ने काट्ने बाहेक त फोनै आउदैनथ्यो। सुरुमा एकपटक मैले आफैले उठाएँ। पछि घरका सदस्यहरुलाई तर्साउने गरी फोन आउथ्यो। मेरो घरको फोन नउठेपछि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ दाईलाई फोन गरेर राजारामलाई राम्ररी सम्झाउनुस नत्र जे पनि हुन सक्छ भनेर फोन गर्दथे। हेरेक दिन ज्यान मार्ने धम्कि म कहाँ आइपुग्थे।

कुरा हो आज भन्दा २२ वर्ष अगाडि अर्थात् २०५५ सालको। राप्रपाका सांसद मिर्जा दिलसाद बेगलाई काठमाण्डौँको सिफलमा गोली हानी हत्या गरिएको थियो। त्यसैको विरोधमा बन्द आव्हान गरिएको थियो।

माओवादी युद्ध, राजनैतिक अस्थिरिता जस्ता कारणले देशको अवस्था अस्तव्यस्त भएको थियो। त्यस समयमा नेपाल बन्द यती धेरै हुन्थ्यो कि लोग्ने स्वास्नी झगडा पर्दा पनि नेपाल बन्द हुन्थ्यो। जस्लाई जतिबेला मन लाग्यो त्यती बेला नेपाल बन्द हुने अवस्था सिर्जना भएको थियो।

यस्तै क्रममा सोही घट्नका कारण अघिल्लो दिन नेपाल बन्द भएको थियो। आज साँझ समाचार आयो भोलि छाडी पर्सी नेपाल बन्द भन्ने। रिसले केही देखिनँ। बन्दले यती आजित भएका थियौँ की व्यापार व्यवसाय सबै चौपट भएको थियो। मैले सहन सकिनँ। त्यसपछि मैले आफैले तत्कालिन समयका हिट हिट पत्रपत्रिकाको कार्यलयमा फोन गरेर एउटा घोषणा गरिदिएँ। बन्दकर्ताहरुलाई राजारामको तर्फबाट थोत्रो जुत्ता उपहार भनेर उद्घोष गरिदिएँ।

त्यसपछि मेरो खबर भोलिपल्ट नेपालका धेरैजसो राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा गज्जबै समाचार बनेर छापियो। बन्दकर्तालाई थोत्रो जुत्ता उपाहार भन्ने अभियानमा देश भरीबाट समर्थन आयो र सबैले कहाँ जुत्ताहरु पठाउने भनेर सोध्न थाले। मेरो एक्लो अभियानमा देश भरिका नागरिक जोडिनु भयो। पछि जुत्ता यती धेरै जम्मा भएछ कि देश भरीबाट हजारौँ जुत्ता जम्मा भएछ। त्यसबेला बोराका बोरा जुत्ता थिए। ठ्याक्कै यती भन्ने चाँही थाहा भएन। लाखौँ जुत्ता आएको अनुमान छ। तर मिडियामा ७५ हजार जोर जुत्ता देशभरीबाट जम्मा भएको खबर आएको थियो।


देशभरीबाट जनताले मेरो अभियानमा समर्थन जनाए पनि तत्कालिन समयका बन्दकर्ताहरुले मलाई ज्यान मार्ने धम्कि फोनबाट, अरुलाई भन्न लगाएर तर्साउन खोजे। मैले मारे मार्नु, तर यो अभियान छाडिदैन भनेर जवाफ फर्काएँ। राजारामलाई सम्झाई दिनु नत्र जे पनि हुन सक्छ भनेर मदन दाई र हरिवंशको घरमा फोन पुग्दो रहेछ। मेरो मायाले मदन दाई, हरिवंशले पनि यस्तो लफडा छोडी दिनु भनेर भन्नु भयो। मैले मानिनँ।

तर मैले आफै मोडल बनेर एउटा हातमा ढुङ्गा, अर्को हातमा लठ्ठी, टाउकोमा फेटा बाधेँको, आँखा रातो रातो पारेको अनि घाँटीमा नेपाल बन्द, सस्तो राजनीतिकरण लेखेको माला लगाएर ४३ फिट अग्लो एउटा इफ्युजी बनाएँ। त्यो लगेर खुल्लामञ्चमा राखियो। त्यसैमा देशभरीबाट जम्मा भएको जुत्ताको माला बनाएर लगाईदियो।


बन्दकर्ताहरुको विरोधमा लाखौँ जनता खुलामञ्चमा आए। उनीहरुले आक्रोश त्यो इफ्युजीमा पोखे। ल्याएका थोत्रो जुत्ताले त्यो इफ्युजिमाथि रिस पोखे। धुजा धुजा बनाएर भाँचेर क्षतविक्षत गरिदिए। जुन अभियानको समाचार संकलन गर्न देशका राष्ट्रिय मिडिया देखि बिबिसीले राम्रो कभर गरेको थियो। श्रीलङ्कन टेलिभिजनले त एउटा डकुमेन्ट्री नै बनायो प्रोटेस्ट एगेन्स्ट प्रोटेस्ट भनेर।
त्यो जनताको विरोध देखेर तत्कालिन समयमा डेढ वर्ष सम्म नेपालमा नेपाल बन्द भएन।

२ वर्ष पछि यस्तै खालको विरोध फ्रान्समा पनि भयो रे। उनीहरुले जुत्ता आन्दोलन गरेर सफल पारेपछि गिनिज बुकमा नाम लेखाउन गएछन्। तर उनीहरु जाँदै छ भन्ने कुरा थाहा पाए पछि मैले नेपालबाट निवेदन लेखेर पठाएँ। उसको गिनिजबुकमा नाम लेखाउने काम रोकिदिएँ। तर आफूले चाँही त्यो बेलामा गिनिजबुकमा नाम लेखाउन वास्तै गरिएन।