कलाकारहरु बेलाखतमा सामान्य ज्ञानको कमजोरीका कारण मजाक र विवादमा पर्ने चलन नौलो होइन। बलिउडमा आलिया भट्ट, सोनाक्षी सिन्हाको सामान्य ज्ञानको कमजोरीका कारण अहिले पनि मजाक उडाउने काम भइरहेको हुन्छ।

हालसालै नायिका पूजा शर्माले दिएको एक अन्तर्वातामा नेपालको प्रदेश संख्या ७२ वटा र १४ वटा जिल्ला भनेपछि चर्को आलोचनामा परेकी हुन्। मन्त्रिहरुको नाम थाहा नपाए पनि ठूलो विषय नभएको तर स्कूल तहमै अध्ययन गर्नु पर्ने नेपालको जिल्लाको संख्या नायिका पूजा शर्मा जस्ती नायिकालाई थाहा नभएको भन्दै उनको आलोचना र ट्रोलिङ हुन थालेको हो। हुन त सामान्य ज्ञानको कमजोरीको कारण आलोचनामा परेको अभिनेत्री पूजा शर्मा पहिलो कलाकार भने होइन।

Pooja Sharma

यसअघि नेपालमा रेखा थापाले ‘दशक’ र ‘शताब्दी’को शाब्दिक अर्थ थाहा नपाउँदा आलोचनामा परेकी थिईन्। एक कार्यक्रममा राजेश हमाललाई ‘महानायक’ मान्न सकिदैन, बरु ‘तीन शताब्दी’ काम गरेका सुपरहिट सिनेमा दिने भुवन केसीलाई ‘महानायक’ भन्न सिकन्छ भन्ने प्रष्टिकरणमा ‘शताब्दी’ शब्दले विवादमा परेकी हुन्। खासमा नायिका थापाले दशक भन्न खोजिएको थियो तर भईदियो ‘शताब्दी’। ‘शताब्दी’को अर्थ सय भन्ने हो। उनको भनाईको हिसाबले हेर्ने हो भने भुवन केसीले ३ सय वर्ष नेपाली सिनेमा क्षेत्रमा काम गरेको भन्ने अर्थ हुन्छ।

Rekha Thapa


यस्तै अभिनेत्री करिष्मा मानन्धरले बाबुराम भट्टराईको ‘नयाँ शक्ति पार्टी’ घोषणा कार्यक्रममा उद्घोष गर्नेक्रममा बोलिएको अंग्रेजी र बक्ताको नाम गलत उच्चारण गर्दा आलोचना खेप्नु परेको थियो। करिष्माले कार्यक्रममा बक्ताको रुपमा प्रदीप गिरीलाई बोलाउँदा डा. प्रदीप भट्टराई भनेर बोलाएका थिए। उनले तत्काल सच्चाएको भएता पनि प्रदीप गिरीले माइकमा ‘न म डा. हुँ, न त म भट्टराई नै हुँ’ भन्दै कटाक्ष गरेर बोल्न सुरु गरेका थिए।

Karishma Manandhar


त्यस्तै अभिनेत्री प्रियङ्का कार्कीले एक अन्तर्वातामा ‘अमेरिका पहिलो पटक हो, युएस धेरै चोटी आएको’ भन्ने कुराले पनि निकै समय चर्चा पाएको छ। उनी बेलाबखतमा जिब्रो चिप्लिदाँ समेत शब्दको अनर्थ लागेपछि नराम्ररी ट्रोल बनेकी छन्।


नायिका शिल्पा पोखरेलले पनि काठमाण्डौँ कुन जिल्लामा पर्छ भनेर सोधिएको प्रश्नमा ‘बाग्मती’ भनेपछि ट्रोलमा परेकी छन्।

Priyanka Karki

यि त भए केही उदाहरणहरु। कलाकारको बौद्धिक क्षमताको स्तर बाहिरिएपछि धेरैले आलोचना र टिप्पणी गरेका छन्। केहीले भने यस्ता कुराहरु कलाकारले जानीराख्नु आवश्यक नभएको भन्ने खालको मत पनि जाहेर गर्दै कलाकारको बचाउ पनि गरेका छन्। कलाकारले अभिनय जाने पुग्छ। सामान्य ज्ञानको जानकारी राखिरहनु नपर्ने तर्क पेश गर्ने गरेका छन्। बरु कलाकारले अभिनय गर्न जानेन भने चाँही समस्या हुने विचार उनीहरुको रहेको छ।

Dipendra Lama


तर यस विषयमा निर्देशक तथा रंगपत्रकार दीपेन्द्र लामा भन्छन्, ‘कलाकारले देश, समाज र राजनीतिबारे सकेसम्म धेरै जानकारी राख्नुपर्छ। अनि मात्र उसले आफ्नो अभिनयलाई परिपक्व, जीवन्त र समसामयिक बनाउन सक्छ। अभिनय भनेको मेकानिकल काम होइन, बौद्धिक काम हो। मेकानिकल काम रोबोटले पनि गर्नसक्छ तर अभिनय रोबोटले गर्नसक्दैन, कलाकार नै चाहिन्छ।’

घामपानी, गोपी, छमाया छपक्कै जस्ता सिनेमा निर्देशन गरिसकेका लामा अगाडि थप्छन्, ‘कलाकारले आफ्नो बौद्धिकता बढाउँदै लैजानुपर्छ। फिल्मको स्क्रिप्ट बुझ्न पनि त बौद्धिकता चाहियो नि। यसको मतलब यो होइन कि, सबैले पिएचडी नै गर्नुपर्छ। सबैको बौद्धिकता एकै तहको पनि हुने होइन। कम्तीमा कुनै पनि कलाकार सामान्य ज्ञानका मामिलामा हाँसोको पात्र बन्नु भएन।’

Sushil Paudel


‘प्रसाद’ सिनेमामा लेखक तथा रंगपत्रकार सुशिल पौडेल भन्छन्, ‘सामान्य ज्ञान त कलाकारले मात्र हैन, सर्वसाधारणले पनि राख्नुपर्छ। लामो समय देखि रंगपत्रकारीतामा सक्रिय पौडेल अगाडि थप्छन्, ‘कलाकारले सामान्य मात्र हैन, वृहत्त ज्ञान राख्नु राम्रो हो। कलाकारलाई समाजले रोल मोडल मान्ने गर्छ। उनीहरूका बोली, विचार र अभिव्यक्तिबाट समाजको ठूलो समूहले आफ्नो धारणा बनाएको हुन्छ। उनिहरूलाई पच्छ्याएको हुन्छ। त्यसैले पनि कलाकार बढी जिम्मेवार, तार्किक र बौद्धिक बहसमा निपूर्ण हुन सक्नु राम्रो हो। यसले उनिहरूको छवीलाई थप उचाई दिन्छ।’

Nawal Nepal


त्यस्तै निर्देशक नवल नेपाल यस विषयमा थप्छन्, ‘कलाकार (नाटक, चलचित्र लगायत) भए पछि समाज मा भएका हरेक चरित्रको भुमिका निर्बाह गर्नु पर्छ। जस्का लागि असामान्य ज्ञान को आबस्यक्ता पर्छ। कसैको मनोबिज्ञान अध्ययन गर्नु चान चुने हैन।’

श्रीमान्, मंगलम्, मारुनी जस्ता सिनेमा निर्देशक तथा लेखक नेपाल भन्छन्, ‘समुदाय, समाज क्षेत्र र देश को सामान्य ज्ञान राख्ने ले चरित्रको सहि चित्रण गर्छ। जस्ले संस्कृत सहि उच्चारण गर्न सक्छ उसैले मात्र त्यस्को मतलब बुझेको हुन्छ भने झै जस्ले देसको सामान्य ज्ञान बुझेको हुन्छ उस्ले कलाकारिता मार्फत चरित्र चित्रणलाई न्याय गरेको हुन्छ। किन कि आम मान्छे ले उस्लाइ अलंकारको रुपमा हेरेको हुन्छ।’

कलाकारिता क्षेत्रमै आवद्ध निर्देशक,लेखक तथा पत्रकारहरुको यस किसिमको भनाईले पनि थप स्पष्ट हुन्छ की कलाकारहरुमा सामान्य ज्ञान सम्बन्धी जानकारी कती आवश्यक छ भनेर। कलाकारले देशकै प्रतिनिधित्व गर्ने हुदाँ कुनै समयमा अन्र्तराष्ट्रिय मञ्चमा उभिएर देशको भुगोल, राजनीतिक अवस्था, सामाजिक अवस्थाको बारेमा तथ्यगत रुपमा पनि बोल्न पर्ने हुनसक्छ। यस हिसाबले अभिनयमा निपुणका साथै सामान्य ज्ञान र समसामयिक विषयबस्तुमा जानकार हुनु निकै जरुरी देखिन्छ।

यो पनि हेर्नुहोस्