नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र अभिनेता भुवन केसी वीचको सामाजिक सञ्जालमा भएको भनाभनले नयाँ मोड लिएको छ। नायिका साम्राज्ञीले आफूमाथि दुव्र्यवहार भएको दावी गर्दै इन्ष्टाग्राममा भिडियो पोष्ट गरेपछि सिनेमा क्षेत्रमा तरंग पैदा भएको छ। अभिनेता भुवन केसी माथि लक्षित भिडियो आएपछि सिनेमा क्षेत्रमा हंगामा मच्चिएको छ। साम्राज्ञी र भुवनको पक्षविपक्षमा कलाकर्मीहरु बाडिएका छन्।

यस सम्बन्धमा नायिका शाहले आफ्नो अनावश्यक मानमर्दन गरेको भन्दै अभिनेता भुवन केसीले भने घट्नाको छानविन गर्नका लागि निवदेन दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै अभिनेता भुवनले घट्नाको सत्यतथ्य छानविन गर्नका लागि निवदेन दिएको उल्लेख गरेका हुन्।

सामाजिक सञ्जालमा आफूले दिएको निवेदन पत्रको फोटो पोस्ट गर्दै अभिनेता एवम् निर्माता केसीले आफ्नो चरित्र हत्या भएको निवेदनमा उल्लेख गरेका छन्। नेपाल चलचित्र कलाकार संघको नाममा बुझाईएको निवेदनमा कलाकारको वर्गिय हकहित र कलाकारको समस्याहरुमा आवाज उठाईरहेको व्यक्ति भएकोले घट्नाको सत्यतथ्य छानविन गर्न माग गरेका छन्।

यस अघि अभिनेता भुवन केसीले नायिका शाह विरुद्ध साइबर क्राइम र मानहानीको कानुन प्रयोग गर्ने चेतावनीयुक्त स्टाटस लेखेका थिए।

यता अभिनेत्री साम्राज्ञीले पनि फेरि पछिल्लो समयमा इन्ष्टामा भिडियो पोष्ट गर्दै आफू कानुनी सल्लाह लिईरहेको कुरा उल्लेख गरेकी छन्। घट्नाले उग्र रुप लिइरहेको समयमा कलाकार संघले के कस्तो कदम उठाउँला त्यो भने हेर्न बाँकी रहेको छ।