पछिल्लो समयमा उत्पन्न ‘महानायक’ विवादबारे दीपकराज गिरीले बोलेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै ‘महानायक’ विवादबारे स्पष्ट पार्ने प्रयत्न गरेका छन्। उनले भिडियोमा बोल्दै राजेश हमाल प्रतिको समर्थनमा सामाजिक सञ्जालमा ओर्लिएकाहरु प्रति लक्षित गर्दै फेक आइडीको संज्ञा दिएका छन्।


उनका अनुसार ‘महानायक’ विवाद राष्ट्रव्यापी भएको देख्दा अचम्म लाग्दो रहेको छ।उनले यदी नेपाली सिनेमा क्षेत्रको लागि यो जनलहर र चासो भएको भए नेपाली सिनेमा क्षेत्रको अहिलेको यस्तो अवस्था आउथ्यो ? भन्दै प्रश्न सोझ्याएका छन्।


दीपकराज गिरीले आफूले साइबरका विज्ञसंग छलफल गरेर निकालिएको निष्कर्षमा ७५ प्रतिशत ‘फेक आइडी’ भएको दावी गरेका छन्।तिनै ‘फेक आइडी’हरुबाट आफूहरु माथि आक्रमण भएको उनको दावी रहेको छ। उनले केही प्रतिशत राजेश हमाल प्रतिको प्रेम भएता पनि त्यो भन्दा ठूलो प्रतिशत ‘छक्का पञ्जा’ ब्राण्ड प्रति लक्षित भएको जिकिर गरेका छन्।

‘महानायक’ प्रति दीपाश्री निरौलाले दिएको अभिव्यक्ति प्रति माफी माग्दा समेत प्रहार गर्ने कार्य निरन्तर भएको कारण ‘छक्का पञ्जा’ ब्राण्डप्रती नियोजित प्रहारमा केही समूह सक्रिय भएको दीपकको धारणा रहेको छ।

आफूहरु प्रति भएको प्रहारमा दुख मनाउदै दीपकले कलाकारीता क्षेत्रमै रहेको कलाकारहरुले पनि दोहोरो भूमिका खेलेको उल्लेख गरेका छन्। विवादित विषयलाई मिलाउन भन्दा पनि ‘आइ एम विथ राजेश हमाल’ भन्दै माहोल उत्तेजित पार्न तर्फ अग्रसर भएको दीपकको ठम्याई रहेको छ। जस्ले विगतमा राजेश हमालको बारेमा अन्तर्वातामै नराम्रो भनेर प्रतिक्रिया दिए उनैले राजेश हमालको पक्ष लिदैँ माहोल गरम बनाएको दीपकले विचार व्यक्त गरेका छन्।

हाम्रो मनकों कुरा, केहि तीतो केहि मिठो!!!

Posted by Deepak Raj Giree on Sunday, July 12, 2020

‘गल्ति भएमा माफी पाऊँ’ भन्दै पटक पटक उल्लेख गरेका दीपकराज गिरीले द्वैत चरित्र देखाउने अग्रज कलाकारहरुप्रति पनि आक्रोस पोखेका छन्। मुख्यतः आफ्नो ‘छक्का पञ्जा’ ब्राण्ड माथि आक्रमण गरेर सकाउने मनस्थितीहरु सक्रिय भएको पटक पटक जिकिर गरेका छन्। दीपकले यस विवादलाई अब धेरै नतन्काइदिनुहुनका लागि अनुरोध पनि गरेका छन्।

केही समय अघि दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वातामा दिएको ‘महानायक’ सम्बन्धीको अभिव्यक्तीका कारण उनको चर्को विरोध र आलोचना हुदै आएको छ। यस घट्ना सेलाएर जाने भन्दा पनि अझ उग्र हुदै गएपछि विभिन्न कलाकारहरुले दीपाश्री निरौला माथि थप प्रहार नगर्नका लागि आफ्नो सामाजिक सञ्जाल मार्फत आव्हान गर्दै आइरहेका छन्।

यता ‘महानायक’ विवादले ठूलो रुप लिदै गर्दा आफ्ना शुभचिन्तकहरुलाई रोक्नका लागि राजेश हमालले व्यक्तव्य निकाल्नका लागि दवावहरु पनि बढ्दै गएको छ। यद्यपी राजेश हमालले यसबारेमा भने थप कुनै प्रतिक्रिया दिएका छैनन्। उनको आव्हान र शुभचिन्तकहरुको लागि अनुरोधको पर्खाइमा धेरै दर्शकहरु रहेका छन्।