महानायक राजेश हमालका भाई राकेश हमालको शुक्रवार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ। बुधवार भारतको नयाँ दिल्लीस्थित ह्याम्स अस्पतालमा निधन भएका उनको पार्थिव शरीरमा छोराले दागवत्ति दिएका थिए।

भाईको शव बुझ्न अभिनेता राजेश हमाल आफन्तको साथमा त्रिभुवन विमानस्थलमा पुगेका थिए। पशुपति आर्यघाटमा भाईलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनी भावविह्वल भएका थिए। भाईको शव हेर्दै उनी पटक पटक भक्कानिएका थिए। वर्षौ देखि काठमाडौंको कपुरधारास्थित एकै घरमा दाजुभाईको परिवार बस्दै आएका थिए।

निर्माण व्यवसायी तथा समाजसेवी राकेश हमाललाई अन्तिम श्रद्धाञ्जली दिन सिनेकर्र्मी देखि राजनीतिज्ञहरु पशुपति आर्यघाट पुगेका थिए। नेपाली कांग्रेसको क्रियाशिल सदस्य भएका कारण उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला, शशांक कोइराला र सुजता कोइरालाले संयुक्त रुपमा नेपाली कांग्रेसको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

अभिनेता राजेश हमालका भाईलाई केही दिनअगाडि कलेजोले काम गर्न छाडेपछि प्लेन चार्टर्ड गरेर कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली लगिएको थियो। एक छोरा र एक छोरीका पिता राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन्।

तस्विर सौजन्यः विवेक बस्याल