अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मि शाह र अभिनेता तथा निर्माता भुवन केसी विचको लफडा थप पेचिलो बन्दै गएको छ। भुवन केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा साथै जिल्ला अदालत काठमाण्डौँमा १० करोडको क्षतिपुर्ती माग गरे पछि साम्राज्ञी पनि कडा रुपमा प्रस्तुत भएकी छन्। उनले पनि आफू भुवन विरुद्ध कानुनी प्रक्रियामा जाने संकेत दिएकी छन्।

नायिका शाह र अभिनेता भुवन केसीको जुहारी चलिरहँदा भुवनको पक्षमा विभिन्न निर्माता तथा कलाकारहरुले बोल्न थालेका छन्। यता नायिका शाहको पक्षमा भने नायिकाहरुले नै खुलेर साथ दिएको पाइदैन।

विवादले पेचिलो र उग्र रुप लिदै गर्दा निर्मात्री एवम् नायिका झरना थापाले साम्राज्ञीको बारेमा दिएको एक अभिव्यक्ति माथि नायिका अश्लेषा ठकुरीले आपत्ती जनाएकी छन्। ‘ए मेरो हजुर २’ मा अभिनेत्रीको रुपमा साम्राज्ञीलाई काम गराएकी निर्मात्री थापाले साम्राज्ञीमा परिपक्वता कमी भएको भन्दै सुधार गर्न सुझाव दिएकी थिइन्।

उनको यस किसिमको समाचार शेयर गर्दै ‘प्रेमगीत २’ नायिका अश्लेषाले सत्य बोल्न परिपक्व हुनु पर्दैन भन्दै यदी त्यसो हो भने साना केटाकेटी किन सबै भन्दा सत्य हुन्छन्? भनेर झरना थापालाई प्रश्न गरेकी छिन्।

सबैलाई सत्य बोल्ने अधिकार रहेको बताउदै कसैले पनि यसलाई दवाउन वा लुकाउन खोज्न नपाईने उनले तर्क गरेकी छन्। उनी साम्राज्ञीको समर्थन गर्दै स्टाटसमा लेख्छिन्, ‘काम बिना कोही मर्दैन तर मर्यादा बिना खुशीको साथ बाँच्न सक्दैन त्यसैले उनी मर्यादा दावी गर्दैछिन।’

उनले नायिका झरना थापालाई तपाईँ पनि एक आमा भएको र तपाईँकी छोरीमाथि यस्तै किसिमको दुव्र्यवहार भएको खण्डमा यस घट्नालाई लुकाउन वा दवाउन खोज्नु हुन्थ्यो कि लडाई लड्नु हुन्थ्यो भनेर प्रश्न सोझ्याएकी छन्। अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले पनि हालै ‘ए मेरो हजुर ३’ बाट नेपाली सिने जगतमा प्रवेश गरिसकेकी छन्।

उनले साम्राज्ञीलाई अपरिपक्व भन्नु मुर्खतापुर्ण व्यक्तव्य भएको भन्दै मनोरञ्जन क्षेत्रले यस घट्नालाई ढाकछोप गर्न खोजेको जिकिर गरेकी छन्। नायिका ठकुरीले आफू सधै पिडितको पक्ष र सत्यको पक्षमा रहेको उल्लेख गरेकी छन्।