नेपाली सिनेमाकी ‘कान्छी’ नामबाट सुपरिचित अभिनेत्री सर्मिला मल्लको आज जन्मदिन। वि.सं. २०२७ साल साउन २६ गते जन्मिएकी अभिनेत्री सर्मिलाले विएस थापाले निर्देशन गरेको सिनेमा ‘कान्छी’बाट नेपाली सिने नगरीमा प्रवेश गरेकी हुन्। सर्मिला यसै सिनेमाका कारण ‘कान्छी’ उपमा बाट परिचित भइन्। तत्कालिन समयमा सुपरहिट सिनेमा दिएकी सर्मिलाले ‘कान्छी’ सिनेमामा अभिनय गर्दा १४ वर्षको मात्रै थिइन्।

सर्मिलाको खास नाम सर्मिला शाह हो भने पछि अभिनेता कृष्ण मल्लसंग वैवाहिक जीवनमा बाँधिएपछि सर्मिला मल्ल लेख्न थालिन्। उनले पहिलो सिनेमाको ‘कान्छी’ बाट ८ हजार रुपैयाँ पारिश्रमिक स्वरुप पाएकी थिईन्।

रेडियो नेपालमा बाल कार्यक्रममा सहभागी भइरहने सर्मिला रेडियो नाटककै कारण सिनेमा क्षेत्रमा जोडिन पुगिन्। खासमा सुरुवाती समयमा सिनेमाको नायिका बन्ने रहर नभएकी सर्मिलाले सिनेमाको अफरलाई सिधै इन्कार गरेकी थिईन्।

परिवारमा पनि खासै अनुमती नदिएकोले उनले सिनेमामा काम गर्ने मन नगरेको बताउछिन्। आफूलाई सिनेमामा लैजान आफ्नै दाईको विशेष भूमिकालाई सम्झिने गर्छिन्। एउटा मात्रै सिनेमा खेल्ने भनेर सुरुवात गरेको सिनेयात्रामा सर्मिलालाई पहिलो सिनेमाले नै ‘कान्छी’ उपमा र लोभ लाग्दो सफलता दिलायो।

उनले आफ्नो सिनेमाको सुरुवाती दिनहरुको कुरा सम्झदै सर्मिला भन्छिन्, ‘खासमा आफूलाई राम्री छु भन्ने कहिल्यै लागेन। तर पछि सिनेमा कान्छीमा गाउले देखिने नायिकाको खोजी हुदाँ म कहाँ सम्म्म अफर आइपुगेको हो। निर्देशक विएस थापाले सिनेमा गर्छौ भनेर सोध्नु हुँदा मैले सिधै गर्दिनँ भनेको थिए। म सिधा बोल्थे। पछि मलाई दाईले सम्झाउनु भएपछि मैले एउटा डाइलग बोलेर सुनाए। त्यही म फाइनल भएँ। म सानै थिएँ। मैले निर्देशक स्वर्गीय विएस थापा ज्यूको श्रीमती प्रतिमा थापा ज्यूलाई थार्काइ दिएकी छु।’

तत्कालिन समयको कुरा सम्झदै सर्मिला थप्छिन्,’ त्यो बेला छायांकनमा बम्बैबाट प्राविधिकहरु आउनु हुन्थ्यो। मेकअपका दाईहरु पनि उतैको हुनुहुन्थ्यो। उहाँले मलाई लिपिस्टिक लगाईदिनु हुन्थ्यो। तर मलाई मन नपर्ने। मेरो पालो मेटिदिन्थे। फेरि मेकअपका दाईहरुले आएर सिनको माग हो भन्दै लाइदिनु हुन्थ्यो। मैले धेरैपटक मेटे पछि प्रतिमा म्यामलाई हिन्दिमा बोलेर मेरो कुरा सुनाइदिनु भएछ। र उहाँले मलाई मेकअपम्यानले जे गर्छ त्यो नै गरेर सिनेको लागि तयार हुनु भनेर भन्नु भो। मलाई चाही चित्त बुझेन। फेरि मेटेर निर्देशक विएस थापा ज्युकै अगाडि गएर उहाँलाई थर्काएछु। ‘निर्देशकको श्रीमती भयो भन्दैमा मलाई थर्काउने?’ भनेर। मेरो कुरा सुनेर निर्देशक थापा ज्यू चाही निहुरिएर बस्नु भएको थियो। निर्देशक ज्यूलाई थाहा थियो की म कस्तो स्वभावको र कसरी काम गराउनु पर्छ भनेर। अहिले ती कुरा सुन्दा हाँसो लाग्छ र कस्तो कस्तो लाग्छ। मलाई त्यती बेला कराउन आए पनि निर्देशकले भन्ने लागेको थियो। निर्देशकको श्रीमतीले भन्ने हो ? भन्ने भयो नि ती। (हाँसो)

‘बासुदेव’, ‘चिनो’, ‘चेलिबेटी’,’माया पिरती’, ‘के घर के डेरा’, ‘संकल्प’ जस्ता सिनेमामा अभिनया जादू छरेकी अभिनेत्री शर्मिलाले ‘गोठालो’, ‘बादल’, ‘लगनगाँठो’ गरी ३ सिनेमाको निर्माण समेत गरिन्।

पछिल्लो समयमा सिनेमामा खासै सक्रिय नभए पनि सिनेमाको अवार्ड कार्यक्रम आयोजनामा मल्ल दम्पती नै सक्रिय भएर लाग्ने गरेका छन्। अभिनेत्री सर्मिला मल्ल नयाँ सिनेमा निर्माणका लागि कथा लेखन र स्क्रिप्टमा व्यस्त भएको जानकारी पाएका छौँ।


अभिनेत्री सर्मिला मल्ललाई जन्मदिनको अवसरमा समस्त दर्शक र पाठकको तर्फबाट शुभकामना। नयाँ बन्न लागेको सिनेमाको लागि पनि शुभेच्छा प्रकट गर्दछौँ।