प्रभावशाली कलाकारहरु रामकृष्ण ढकाल,रेखा थापा र विपिन कार्कीको जन्मदिन एकसाथ परेको छ। नेपाली कलाकारितामा आफ्नो प्रभाव जमाउन सफल तीनै जना कलाकारको एक साथ जन्मदिन पर्नुलाई सुखद संयोग मान्नु पर्छ। अझ रमाइलो पाटो त यो छ की पछिल्लो समयका चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री रेखा थापाको उमेर बराबरी रहेको छ।

विसं २०३९ साल भदौ ५ गते रेखा थापा र विपिन कार्की को दुवैको जन्ममिति हो।उनीहरु विच केही घण्टाको मात्रै समय अन्तर हुनु पर्छ। यसकारण रेखा र विपिनको जन्म साल, गते, बार एउटै रहेको छ। अर्थात् उमेरको हिसाबमा उनीहरु समान रहेका छन्। कलाकारिताको हिसाबमा नायिका रेखा विपिन भन्दा वरिष्ठ हुन्।

यता गायक तथा नायक रामकृष्ण ढकालको पनि आजै जन्मदिन परेको छ। नागरिकतामा उल्लेख भए अनुसार वि सं २०३१ साल साउन ८ गते भएको भएता पनि भदौ ५ गते ढकालको वास्तविक जन्मदिन रहेको छ। सिनेमा ‘आर्शिवाद’मा मुख्य अभिनेताको रुपमा प्रस्तुत भएका रामकृष्ण ढकाल अभिनयमा भन्दा पनि गायनमा व्यस्त छन्।

सानै उमेर देखि नै गायन क्षेत्रमा सक्रिय रहेका रामकृष्णले २०४३ साल देखि औपचारिक सांगितिक यात्रा सुरु गरेका थिए। ‘ओराली लागेको हरिणको चाल भो’ बोलको गीत गाएपछि गायक ढकालको जीवन उकालो लागेको मान्ने गरिन्छ। पछिल्लो समयमा सहकारीको ऋण र श्रीमती निलमसंगको सम्बन्ध विच्छेदको झुटो खबरले गायक रामकृष्ण चर्चा र विवादमा आएका थिए।

त्यस्तै नायिका रेखा थापालाई नेपाली सिनेमा क्षेत्रमा सक्रिय र बहादुर नायिका मान्ने गरिन्छ। मोडलिङ क्षेत्र हुदै सिनेमा ‘हिरो’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका रेखालाई शुभचिन्तकले ‘हिरो’ भनेर सम्बोधन गर्ने गर्छन्।

निरन्तर १० वर्ष भन्दा बढी एक छत्र राज गर्न र प्रभाव जमाउन सफल नायिका रेखा वैवाहिक सम्बन्ध र राजनीतिक गतिविधीले चर्चा र विवादमा परेकी छन्। तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ संगै नाँचेको एक घट्नाले उनी सर्वाधिक चर्चामा आएकी थिइन्।

पछिल्लो पुस्तामा अभिनय कुशलताले अनगिन्ती शुभचिन्तक कमाउन सफल विपिन कार्कीको पनि आजै जन्मदिन परेको छ। अभिनेता अर्जुन कार्कीका आफ्नै भाई समेत रहेका विपिन ‘छड्के’ सिनेमाका ‘विन्दू’ नामको पात्र बाट दर्शकमाझ चर्चित बने। त्यस अघि उनीले ‘लुट’ सिनेमामा अभिनय गरेको भएता पनि आम दर्शकले खासै चिनेका थिएनन्।

सिनेमा ‘पशुपतीप्रसाद’को ‘भष्मे’, ‘जात्रा’ सिनेमाको ‘फडिन्द्र’ मार्फत उनलाई दर्शकले सर्वाधिक रुचाएका छन्। एक सन्तानका पिता समेत रहेका विपिनको सिनेमा ‘जात्रै जात्रा’को छायांकनमा जाने क्रममा मोटरसाइकल दुर्घट्नामा परेर खुट्टा भाँचिएको थियो।

नेपाली सिनेमा क्षेत्रका प्रभावशाली कलाकार त्रयलाई सुस्वास्थ्य दीर्घायूको कामना गर्दै विहानै देखि विभिन्न माध्यमबाट शुभचिन्तकहरु शुभकामना दिईरहेका छन्।