लोकप्रिय हाँस्यकलाकार तथा किर्तिमानी निर्देशक दीपाश्री निरौलाको भदौ ७ अर्थात् आज जन्मदिन परेको छ। जन्मदिनको अवसरमा एक भिडियो बनाउदै निरौलाले ‘महानायक’ विवादमा दर्शकसंग हात जोडेर माफी मागेकी छिन्।

जन्मदिनको अवसरमा आईतबार बिहान फेसबुकमा पोष्ट गरेको भिडियोमा उनले भनेकी छिन्, –‘मेरो अभिब्यक्तिले यहाँहरुको मन दुखेको छ, आफ्नै दिदी बहिनी सम्झेर माफी दिनुहोला।’

उनले समस्यासंग भाग्नुभन्दा समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा भएको बताएकी छिन्। आफ्नो २९ र ३० वर्षको कलाकारिता यात्रामा अघिका समय पनि पीडादायी भएको उल्लेख गरेकी छिन्।

तर २०६० सालमा हाँस्य टेलिसिरियल ‘तीतोसत्य’ आएपछि दर्शकहरुको साथ, सपोर्ट र मायाले आफूले कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको भन्दै दीपाले दर्शक प्रति कृतज्ञता जनाएकी छन्। सिरियल पछि निरन्तर ६ र ७ वटा सिनेमाबाट दर्शकको धेरै माया पाएपनि आफ्नो व्यक्तित्व विकासमा कमी कमजोरी रहेको स्वीकारेकी छिन्।

उनले भनेकी छिन्, ‘कामको सफलता त पाए तर व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ। जस्तो की मिडियामा कसरी फेस हुने, कसरी शिष्ट हुने, कसरी सरल हुने, मिडियामा बोल्दा चलाखीपूर्ण तरिकाले कसरी उत्तर दिने, यो कुरामा मेरो अझै कमजोरी रहेछ। यस घटनापछि त्यो फिल गरे।’

उनले त्यो अन्तवार्तामा आफूले तीन गल्ति गरेको बताएकी छिन्। भिडियोको अन्त्यमा उनले अब फेरि त्यस्ता गल्तिहरु नदोहोर्याउने प्रण पनि गरेकी छिन्। आफ्नो ब्यक्तित्व विकासमा पनि आफ्नो समय खर्चिने प्रण गरेकी दीपाले आफ्ना प्रिय दर्शकहको लागि राम्रो सिनेमा बनाउने कोशिश गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नमस्कार!आज भाद्र ७ गते , मेरो जन्मदिन!धेरै दिन देखि तपाइहरू बाट अलि टाढा थिएत्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छू !आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागे है?

Posted by Deepa Shree Niraula on Saturday, August 22, 2020