बिश्वमै लोकप्रिय भएको डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार’को नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण असोज २ गतेबाट सुरु हुने भएको छ।
कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हरेक शुक्रबार र शनिबार साँझ ८ बजेदेखि हेर्न पाउने भएका छन्।

लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ कोरोना कहरकै बिचमा मनोरञ्जन प्रदान गर्ने हेतुले प्रसारण सुरु हुन लागेको हो।

‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं।’

२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन्। हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले बनाएको नयाँ गाइडलाइन अनुसार दर्शक बिनै हामीले सुटिङ गरेका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने– लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउँदै कार्यक्रम प्रसारण गर्दै छौं।’

डान्सिङ विथ द स्टारको पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खला सक्कीगोनीकी चर्चित अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन्।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ।
अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारिरिक तथा मानसिक स्वास्थ्य मजबुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन्। बिजेताले कुल २० लाख ९करसहित० नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन्।

हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ। डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन्।