बहुप्रतिक्षित सिनेमाको रुपमा रहेको सिनेमा ‘प्रेम गीत ३’ का निर्देशक तथा लेखक छेतेन गुरुङको निधन भएको छ। छेतेन गुरुङको निधन गएराती (भदौ २४ गते मंगलबार राती) २ बजे भएको ‘प्रेम गीत ३’ निर्माण टिमले जानकारी दिएको छ। मंगलबार राती मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो। २०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ बर्षको अल्पआयु मै निधन भएको हो । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।

‘प्रेमगीत ३’ को नायिका अडिसनका क्रममा बाँयाबाट क्रमशः निर्माता सन्तोष सेन, स्वर्गीय क्षेतेन गुरुङ र सिनेम्याटोग्राफर राजेश श्रेष्ठ

लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएको बुझिएको छ। उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए। छेतनको बिहीबार अन्त्योष्टि गरिने छ।

‘डमरुको डण्डीवियो’ जस्ता सिनेमाबाट निर्देशनमा होमिएका छेतेनले ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’ जस्ता सफल सिनेमा लेखेका थिए।

उनको लेखन तथा निर्देशनमा रहेको सिनेमा ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन । अहिले छेतन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नामक सिनेमा निर्देशनको तयारीमा थिए।