लेखक तथा निर्देशक छेतन गुरुङको ४२ वर्षमा भदौ २४ गते निधन भएको छ। लिभरमा समस्या आएपछि काठमाण्डौँ महाराजगञ्ज स्थित रहेको मेट्रो अस्पतालमा उनको निधन भएको हो। ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘ए मेरो हजुर ३’, ‘डायरी’ जस्ता सिनेमा लेखेका छेतेन गुरुङको जन्म विसं २०३५ साल माघ २२ गते भएको थियो। उनको निधनको खबरले नेपाली सिनेमा क्षेत्र स्तब्ध बनेको छ।

स्वर्गीय लेखक तथा निर्देशक छेतेन गुरुङ

७ कक्षा मात्रै पढेका छेतेन

‘नोभेम्बर रेन’ बाट नेपाली सिनेमा क्षेत्रमा लेखकको रुपमा प्रवेश गरेका छेतन आफूलाई लेखक भन्न रुचाउदैन थिए। हामीसंगको एक अन्तर्वाताको क्रममा छेतेन भन्छन्, ‘म लेखक होइन। म खत्रा पढेको मान्छे होइन। यसकारण म लेखक भन्दा पनि सोचक हुँ भन्छु। किनकी कथाहरु देखेर, सुनेर, कल्पेर सोच्छु। यसकारण म सोचक हुँ। अर्को कुरा मैले औपाचारिक शिक्षा धेरै पढेको छुईनँ। मेरो औपचारिक शिक्षा भनेको जम्मा ७ कक्षा मात्रै हो।’

मनाङ पुख्र्यौली घर भएको छेतन काठमाण्डौँमै जन्मे हुर्के र पढाई काठमाण्डौँ र कालेङपुङमा गरे। धेरै स्कूल परिवर्तन गरेर पढेका छेतनले बौद्धमा टिब्बेटन स्कुलमा पढ्न थाले। त्यस अघि कक्षामा प्रथम हुने छेतन टिब्बेटन भाषामा पढ्न थाले पछि कक्षामा ९ औँ स्थानमा पुगे। उनी भन्छन्, ‘म त्यसअघिको कक्षाहरुमा सधै प्रथम हुने। तर त्यहाँ ९ औँ स्थानमा पुगेपछि मलाई इगो हर्ट भयो र जानी जानी फेल हुन थाले। २ वर्ष एउटै कक्षामा बस्न थाले पछि मैले पढाई छाडी दिएँ।’पढाई छोड्नुको कारण छेतेनले खुलाए।

गुम्बामा लामा बनेका छेतेन

स्वर्गीय निर्देशक छेतेन गुरुङले बौैद्धमार्गीको विशेष शिक्षा लिएर उनी लामा पनि बने। गुम्बामा बौद्ध धर्मसंग सम्बन्धित शिक्षा अध्ययन गरेर पुर्णरुपमा लामा बनेर बसे। उनी भन्छन्, ‘म २ वर्ष लामा भएँ। छाउनी गुम्बामा लामा भएकै बेला हो मैले ‘नोभेम्बर रेन’ नामक सिनेमाको कथा तयार पारेको। मैले त्यहीका लामाहरुलाई एक लाईन कथा सुनाएका थिए। पछि उनीहरुले त्यो कथा के भयो भनेर बारम्बार सोधी रहेकोले मैले सिनेमामा मेरो सोँचलाई उतारेँ।’


लामाको जीवन बाट किन बाहिर निस्किनु भएको ? हाम्रो प्रश्नमा छेतेन भन्छन्, ‘त्यहाँ पनि पढ्नु पर्ने भएकोले। मलाई पढ्न भनेपछि दिक्क लागेर आउथ्यो। तर अहिले भने पढ्नु पर्ने रैछ भन्ने महशुस हुन्छ। किनकी पढेको भए मैले सोँचेका हर कथाहरुलाई शब्दमा कोर्न सक्थे। मेरा भावनाहरु आफै पोख्न सक्थेँ। तर म एक्सपेरियन्स एण्ड स्केप हुने टाइपको मान्छे हुँ। सायद यही भएर होला म गुम्बा बाट बाहिर आएँ।’

१९ वर्ष मै बाऊ

सिङ्गापुर, मलेसियामा मुगाको माला, स्टोन लगायतका व्यापार समेत गरेका छेतन १९ वर्षकै उमेर बुवा बनिसकेका थिए। प्रेम विवाह नै भन्न रुचाउने छेतेनका छिरिङ डोल्मा गुरुङ नाम गरेकी एक छोरी पनि छिन्। प्रेम विवाह गरेको भएता पनि आफ्नो बैवाहिक जीवन त्यती सुखद नभएको उनको भनाई थियो। उनी भन्छन्, ‘मेरो साथमा छोरी छिन्। उसको जीवन बनाउन आफ्नो जीवन खर्च गर्दैछु। छोरी मेरो घरकी महारानी हो। म उसको बाउ भन्दा पनि हामी साथी हौँ। म असल पिता बन्ने कोशिस गर्दैछु।उसको हर सपना पुरा गर्न म पुरा प्रयास गर्नेछु। मैले भन्ने गरेको छु की -छोरी तिम्रो सपना पुरा गर्नको लागि तिम्रो ड्याडी सधै साथमा हुनेछ।’


छेतेनले विगतका केही कुरा कोट्याउदै भने, ‘मैले पहिला मेरी छोरी, श्रीमती वा परिवार कसैलाई पनि राम्रो गर्न सकिनँ। उनीहरुलाई खुशी दिन सकेको थिएनँ। मेरो साथमा श्रीमती त छैन र पनि दोस्रो विवाह गर्ने सोँचेको छुईँन। कारण म आफै थिएँ। म उनीहरुको लागि राम्रो थिएनँ। मेरो साथीहरु आफन्तको लागि म असल बन्न सकिनँ।’

जीवनकालमा ५ वटा सिनेमा निर्देशन गर्छु


कुराकानीको अन्त्यमा छेतेन भन्छन्, सिनेमा क्षेत्रले मलाई मेरो गुमेको इज्जत फर्काइ दिएको छ। यसैकारण मेरा गुमेका साथीभाई आफन्त र छोरी पाएको छु। म यो क्षेत्रलाई राम्रो सिनेमा दिने प्रयास गर्नेछु। सोँच विचारको साथमा समय लिएर सिनेमा गर्ने स्वभाव भएकोले मेरो जीवनकाल सम्म ५ वटा सिनेमा निर्देशन गरेर मर्ने मन छ।
हामीसंगको कुराकानीको क्रममा आफ्नो जीवनकालमा ५ वटा सिनेमा निर्देशन गर्ने इच्छा राखेका छेतेनले ‘डमरुको डण्डीवियो’ र ‘प्रेमगीत ३’ गरी २ वाटा मात्रै सिनेमा निर्देशन गर्न भ्याए। निर्माता सन्तोष सेनसंगको सहकार्यमा तेस्रो सिनेमा ‘हुतुतु’ निर्देशन गर्ने तयारीमा थिए। ५ वटा सिनेमा निर्देशन गर्ने उनको सपना अधुरै रह्यो।

केही समय अघि स्वर्गीय निर्देशक छेतन गुरुङसंग हामीले गरेको अन्तर्वाताको सम्पादीत अंश