अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलाले सरकारलाई कर बुझाए बापत सुविधा नपाएको गुनासो गरेकी छन्। विहिबार काठमाण्डौँमा सिन्धुपाल्चोकका बाढी पिडितका निम्ति सहयोग जुटाउने कार्यक्रममा उनले सिनेमाको आम्दानीबाट सरकारलाई कर बुझाए पनि राज्यबाट पाउनु पर्ने सुविधा नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।


उनी भन्छिन्, ‘हामीले सिनेमाबाट कमाएको पैसाबाट सबै भन्दा धेरै कर तिर्छौँ। तर सरकारले कर लिए पछि के सुविधा दिएको छ हामीलाई ? केही पनि छैन।’

लामो समय देखि सिनेमा हल नचल्दा परेको समस्या प्रति सरकारले रत्तिभर चासो नदेखाए पनि कलाकारहरु देशमा परेको समस्या प्रति अग्रसर भएर लागी परेको बताईन्। बाढी पहिरो, भुकम्प जस्ता विपत्तीहरुमा कलाकारहरु नै अग्रसर भएर क्षमता अनुसार उद्धार, सहयोग गर्न पुगेको भन्दै सरकारलाई गम्भिर बन्न आग्रह गरेकी छन्।


सिन्धुपाल्चोकको बाढी पिडितको लागि १ लाख १ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउँदै कलाकारहरुको अग्रसरतामा भएको यस्ता अभियानले थोरै भएपनि आहत मनमा राहतको काम गर्ने उनको भनाई थियो। यद्यपी ठूलो परिमाण काम गर्न सरकार नै चाहिने भएकोले सरकारलाई छिटो काम गर्न घचघच्याउने पर्ने बताईन्।


सिन्धुपाल्चोक जिल्लामा जन्मेका कलाकारहरुको पहलमा विहिबार सिन्धुपाल्चोक बाढी पहिरो पिडितका लागि राहत कोषमा रकम संकलन गरिने कार्यक्रम गरिएको थियो।