सिन्धुपाल्चोक जिल्लामा जन्मेका कलाकारहरुको पहलमा विहिबार काठमाण्डौँमा सिन्धुपाल्चोक बाढी पहिरो पिडितका लागि राहत कोषमा २२ लाख रुपैयाँ रकम संकलन भएको छ। विहिबार काठमाण्डौँमा राहत संकलन अभियान कार्यक्रम अन्तर्गत यती मोटो रकम संकलन भएको हो।


हाँस्यकलाकार जितु नेपाल र अभिनेत्री करिष्मा मानन्धरको विशेष पहल कदमीमा भएको कार्यक्रममा अभिनेता भुवन केसी, किरण केसी, दीपाश्री निरौला, कृष्ण मल्ल लगायतका कलाकर्मीहरुले रकम उपलब्ध गराएका हुन्।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची,हेलम्बु ,पॉचपोखरी र ईन्द्रावतीमा पर्न गएको प्राकृतिक प्रकोपमा कलाकर्मीहरुद्वारा संचालित ‘सिन्धु सहयोग कोष’ स्थापना गरिएको र उक्त रकम कोषमा जम्मा हुने कोषाध्यक्ष एवम् कलाकार जितु नेपालले जानकारी दिएका छन्।

मेलम्चीको पानी काठामाण्डौँमा बस्नेले खाने भएकोले मेलम्चीको मनमा राहतको मलमपट्टी गर्नु पर्छ भन्दै समस्त कलाकारहरु एकै स्थानमा भएर सहयोगमा उत्रीएको कलाकार नेपालको भनाई रहेको छ। संकलित रकम क्षतीग्रस्त स्थानमा दीर्घकालिन सोचका साथ योजनाबद्ध रुपमा खर्च गरिने बताईएकोछ।

कलाकारहरुले व्यक्तिगत रुपमा छुट्टा छ्ट्टै गएर राहत वितरण गर्नु भन्दा एक ढिक्का भएर एकै पटक सहयोग रकम उपलब्ध गराउँदा सहि सदुपयोग हुने र ठूलै काम पनि हुने भन्दै कोष खडा गरिएको बताइएको छ।

कलाकार कृष्ण मल्लको संयोजकत्वमा सिन्धु सहयोग कोष खडा गरिएको हो। जसमा करिष्मा मानन्धर सहसंयोजक, कृष्ण ढुङ्गाना सदस्य सचिव, जितु नेपाल कोषाध्यक्ष, चेतन सापकोटा सहकोषाध्यक्ष रहेका छन्। किरण केसी, स्वेता खड्का, सुनिता दुलाल, पूजा शर्मा, भुवन केसी लगायतकाहरु सदस्य रहेका छन्।