कोरोनाको कारण रोकिएको नेपालको चर्चित हाँस्यटेलिसिरियल सक्किगोनी फेरि प्रशारणमा आएको छ। कोरोनाको दोस्रो लहर सुरु भए संगै लकडाउनका कारण छायांकन रोकिएको थियो। यसै साता छायांकन गरेर विहिबारबाट सक्किगोनी पुनः प्रशारणमा आएको हो।

लकडाउनका कारण सक्किगोनी २ महिना रोकिएको थियो। लकडाउन लगत्तै सुरु भएको सक्किगोनीको नयाँ भागमा सामाीजक अभियन्ताहरुमा आएको विकृतिलाई कडा व्यङ्ग्य प्रहार संगै सन्देश समेटिएको छ। पछिल्लो समय केही सामाजिक अभियान्ताहरुको विवादित खबरहरु बाहिरिए संगै आलोचना सुरु भएपछि यस भागमा खराब प्रवृत्तिका सामाजिक अभियन्ताहरुलाई कटाक्ष प्रहार गरिएको हो।

केही महिना पछि आएको सक्किगोनीको नयाँ भागलाई दर्शकहरुले युट्युबमा निकै रुचाएका छन्। पछिल्लो २४ घण्टामा झण्डै ८ लाख पटक हेरिएको यस श्रृङ्खला युट्युबको ६ औँ नम्बर ट्रेण्डिङमा परेको छ।

सक्किगोनीको यस भागलाई दर्शकले रुचाए पछि आफूहरु निकै उत्साहित भएको कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले बताए। दर्शकहरुलाई कोरोनाबाट बच्न स्वस्थ व्यवहार अपनाउँन आग्रह गर्दै जिग्रीले आउँदा दिनहरुमा अझ मनोरञ्जनात्मक साथै अर्थपुर्ण श्रृङ्खला ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।