सौगात मल्ल अभिनित सिनेमा ‘माछा माछा’को प्रदर्शन मिति तय गरिएको छ। तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित सिनेमामा सौगातसँगै विजय बराल र अनोज पाण्डेको केन्द्रिय भूमिका छ।

मंगलबार निर्माण पक्षले सिनेमाको फस्र्टलूक पोस्टर सार्वजनिक गर्दै रिलिज पनि फाइनल गरेको हो। अब सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमा कार्तिक २९ गते रिलिज हुनेछ।

पोस्टर सार्वजनिक गरे पनि टिमले सिनेमाको कथाबस्तु र पात्रको बारेमा खुलाएको छैन । सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समुह र माओत्से गुरुङको समुह छुट्टिएको छ। माओत्सेको समुहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्पले दर्शकमा कौतुहलता सृजना गर्छ ।

पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । सिनेमामा उनको पनि प्रमुख भूमिका रहेको पोस्टरले संकेत गर्छ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको सिनेमामा प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ। सिनेमाको सह निर्मातामा ओमचंद्र रौनियार र अर्जुन कार्की छन्। सिनेमामा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।