नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै सम्मान गरिएको हो।

श्रीमान श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै सम्मानित गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मिना कुमारी रिमालले बताईन्। सात बर्षदेखि हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखि ‘सबैको लागि मनोरञ्जन र उत्सव’ भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेला सहित निशुल्क प्रवेश सहित शुरु भएको रिमालले बताईन्।

तीज माईति मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए। कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, बिभिन्न प्रख्यात कलाकारहरु लगायतको पनि उपस्थिती तथा प्रस्तुती रहेको थियो।

तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो। कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो। तीज माईती मेला श्रावण १८ गतेसम्म चल्ने बताईएको छ।