केही हप्ताअघि स्थानीय दुई किशोरले एसिड प्रहार गरेपछि घाइते भएकी वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई यतीबेला बलिउडका कलाकारहरुले उनी माथि सहानुभूति प्रकट गरिरहेका छन्। केहीदिन अघि बरुण धवन लगायतका केही कलाकारले मुस्कानलाई भिडियो सन्देश दिएका थिए।


अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको मुस्कानलाई पछिल्लो समय बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका छन्।
अमिताभले भने, ‘मलाई तपाईँको बारेमा उत्तराखण्डको नैनीतालमा रहेको शेरउड कलेजमा सँगै पढेको मित्र उज्जल थापाले बताउनुभयो । तपाईँप्रति जे भयो, त्यो निकै दर्दनाक छ । यो कुरा सुनेर म निकै दुःखी भएँ ।’

अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गरे । ‘जे घटनासँग तपाईँमाथि घट्यो, त्यो अरु कसैसँग नघटोस्। तपाईँको नाम जस्तै सधैँ हाँसिरहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उनले भने।

साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन्। उनले मुस्कानको स्वास्थ्य लाभको कामना पनि गरे।

Geplaatst door Ujjwal Bikram Thapa op Woensdag 2 oktober 2019